सूचना अभियन्ता यदुनाथ बन्जाराद्वारा सरकारसँग नियुक्ति प्रक्रिया र आवेदकहरूको विवरण माग

By editor, 18 November, 2026

सुशासन र नागरिक पारदर्शिताको नारा लिएर स्थापित बालेन्द्र सरकार आफ्नै भनाइको खिलापमा प्रस्तुत भएको छ । राज्यको सार्वजनिक निकायलाइ जवाफदेही बनाउने राष्ट्रिय सूचना आयोग पदाधिकारी बिहिन बनाएर सरकारले पारदर्शिता र नागरिक अधिकारलाई कुन्ठित बनाउदै लगेकू छ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त तथा दुई जना आयुक्त नियुक्तिका लागि आवेदन आह्वान गरिएको तीन महिना बितिसक्दा पनि छनोट प्रक्रियाको नतिजा सार्वजनिक नभएको भन्दै सूचना अभियन्ता यदुनाथ बन्जाराले सरकारसँग जवाफ माग गरेका छन्।

सूचनाको हकको क्षेत्रमा करिब एक दशकदेखि क्रियाशील अभियन्ता तथा सञ्चारकर्मी बन्जाराले सूचना तथा सञ्चार मन्त्रालयका सूचना अधिकारीसमक्ष सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम निवेदन दिँदै नियुक्ति प्रक्रियाको अवस्थाबारे आधिकारिक जानकारी माग गरेका हुन्।

बन्जाराका अनुसार सरकारले राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र दुई जना आयुक्त नियुक्तिका लागि २०८३ साउन २२ गते आवेदन आह्वान गरेको थियो। आवेदनका लागि एक साताको समयसीमा निर्धारण गरिए पनि तीन महिना बितिसक्दा समेत छनोट प्रक्रियाको नतिजा सार्वजनिक नभएको उनको भनाइ छ।

उनले राष्ट्रिय सूचना आयोग जस्तो नागरिकको सूचनाको हक संरक्षण र सार्वजनिक निकायलाई जवाफदेही बनाउने संवैधानिक निकायमा पदाधिकारी नियुक्ति प्रक्रियामा भएको ढिलाइले नागरिकमा अन्योल सिर्जना गरेको उल्लेख गरेका छन्।

निवेदनमार्फत बन्जाराले सरकारले अहिलेसम्म नियुक्तिको नतिजा सार्वजनिक नगर्नुको कारण, प्रमुख आयुक्त पदका लागि आवेदन दिने व्यक्तिको संख्या, आयुक्त पदका लागि आवेदन दिने व्यक्तिको संख्या तथा सबै आवेदकको नामावली उपलब्ध गराउन माग गरेका छन्।

उनले सूचना प्राप्त गर्नु नागरिकको संवैधानिक तथा कानुनी अधिकार भएको उल्लेख गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन सरकारसँग आग्रह गरेका छन् । आफ्नो निवेदनको बोधार्थ राष्ट्रिय सूचना आयोग, सिफारिस समितिका संयोजक सभामुखको सचिवालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारलाई समेत दिएका छन्।

स्रोत : जन आस्था डट कम 
प्रकाशित मिति : २०८३ ०८ ०३