प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा सल्लाहकारदेखि स्वकीय सचिवालयका विभिन्न पदमा २५ जना नियुक्त रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रधानमन्त्रीको सल्लाहकारतर्फ कुमार ब्यञ्जनकार अवैतनिक मुख्य सल्लाहकार र असिम शाह राजनीतिक सल्लाहकार छन् । दुवैलाई मन्त्रीसरहको श्रेणीमा राखिएको छ । सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार छन् । उनीहरूलाई राज्यमन्त्रीसरह सुविधा दिइएको छ ।
प्रधानमन्त्रीका अवैतनिक स्वास्थ्य सल्लाहकारमा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् । उनलाई पनि मन्त्रीसरहको श्रेणीमा राखिएको छ ।
स्वकीयतर्फ सुवाष शर्मा प्रमुख स्वकीय सचिव छन् । उनको पद रा.प. विशिष्टसरह छ । नविन भण्डारी स्वकीय सचिव छन् भने सञ्जिव पाण्डे स्वकीय सहसचिव (विकास परियोजना) र दिपा दाहाल स्वकीय सहसचिव (प्रेस तथा अनुसन्धान विज्ञ) छन् । यस्तै सन्तोष गिरी कार्यक्रम तथा भ्रमण संयोजक र विश्व राई विज्ञ (सामाजिक विकास) छन् । यी पाँचै जनाको पद रा.प. प्रथमसरह छ ।
स्वकीय उपसचिवका रूपमा प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्य छन् । सुमन गौतम सहायक विज्ञ (नागरिक उड्डयन) तथा रवि किरण अधिकारी सहायक विज्ञ (भाषा तथा मस्यौदा) छन् । उनीहरूको पद रा.प. द्वितीयसरह छ ।
स्वकीय शाखा अधिकृततर्फ सुरेन्द्र बजगाई प्रेस सहजकर्ता, रोशन तामाङ्ग ग्राफिक्स डिजाइन, बेदानन्द जोशी स्वकीय शाखा अधिकृत र हेम नारायणदास चौधरी अनुसन्धान अधिकृत छन् । उनीहरू रा.प. तृतीयसरह छन् ।
प्रशासन सहायकतर्फ अनुप थापा मगर, ऋषि थापा र राज कुमार गौतम छन् । अमृत पाण्डे कम्प्युटर सहायक (भिडियोग्राफर) र बेनिस कार्की प्रशासन सहायक छन् । उनीहरू रा.प.अनं. प्रथमसरह छन् ।
यसरी प्रधानमन्त्रीको सार्वजनिक गरिएको सूचीमा सल्लाहकार, विज्ञ र स्वकीयतर्फ गरी २५ जना पदाधिकारी छन् । यसमध्ये मन्त्रीसरह सुविधा पाउने तीन जना, राज्यमन्त्रीसरह दुई जना तथा बाँकी पदाधिकारी विभिन्न राजपत्रांकित र राजपत्रअनंकित तहसरहका छन् ।
यसअघि कांग्रेस सांसद सीता थपलिया(उर्मिला)ले प्रधानमन्त्री कार्यालयलाई 'प्रधानमन्त्रीको सचिवालयमा कति जना कुन तह र स्तरको सेवा सुविधासहित कुन कानुनअन्तर्गत नियुक्त हुनुभएको छ ?' भनी लिखित प्रश्न सोधेकी थिइन् । थपिलयाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री शाहले जम्मा २७ जनालाई विभिन्न तहको सेवा सुविधासहित नियुक्त गरेको जानकारी दिएको थियो ।
स्रोत : कान्तिपुर दैनिक
प्रकाशित मिति : २०८३ /०६ /१६